• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

रङ्गीन समय

 देवसिंह सुतार

 

समय रङ्गमञ्च जस्तै चलिरहेको छ ।

किनभने

रातदिन पसिना बगाई ऊ केही जोड्न चाहन्छ

तर  

यसलाई अकुत सम्पत्ति भनी महामहिम हिडिरहेको छ ।

समय रङ्गमञ्च जस्तै चलिरहेको छ ।

 

झोलामा कट्टु ल्याउँदा पनि चेकजाँच हुने

मेरो देशमा

क्विन्टल छिराउँदा

टिङ्ङ बज्ने घन्टी बिग्रीरहेको छ ।

समय रङ्गमञ्च जस्तै चलिरहेको छ ।

 

धन्य हो मेरो विमानस्थल

विमानको नाममा बेमान भइरहेको छ ।

अस्पष्ट छ अहिलेको

समय

पर्दा खोल्दा सबै छरपष्ट हुने गरी चलिरहेको छ ।

 

रात र दिनको प्रहर उहिले पनि थिएन र ?

किन समय रङ्गमञ्च भयो अहिले ?

बन्द पर्दाबाट आउँछ एउटा महामहिम

अन्धकार सडकमा हिड्छ

एउटा यात्री

यात्री कुल्चिँदै महामहिम अघि बढिरहेको छ ।

 

ओहो ! एउटा मनुवा कपाल सेताम्मे हुन्जेल कार्यालय स्याहार्छ

उसले खरको छानो फेर्न नसक्ने भो ।

तर

कपालै नउम्रेको एउटा मनुवा

घरको बाइसौँ तला थपेर अदालत धाईरहेको छ ।

 

छानविनका निम्ति लिफाफा भर्न पठाउँछ सरकार

महामहिम क्विन्टल समाती दरबार छिरिरहेको छ ।

ऊ बडो-बडो हाकिम हो अरे ।

अश्लील हुर्मत राखी आफैलाई चिनाइरहेको छ ।

त्यसैले त अहिलेको समय

रङ्गमञ्च जस्तै चलिरहेको छ ।

 रङ्गमञ्च जस्तै चलिरहेको छ ।

Share to Facebook