• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

करुणा पुन र जेनिसा नेपालीसँगको कुराकानी

देवसिंह सुतार - संवाददाता

यही २०८० वैशाख २५ गतेदेखि ज्येष्ठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा यस विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्ये करुणा पुनले ३.२३ र जेनिसा नेपालीले ३.०१ जिपिए लिई माध्यमिक शिक्षा परीक्षा कक्षा १२ उत्तीर्ण गर्न सफल भएको हुनाले संवाददाता देवसिंह सुतारले छात्रा द्वोय  करुणा पुन र जेनिसा नेपालीसँग गरेको कुराकानीको सार संक्षेप-

देवसिंह-            सर्वप्रथम तपाईहरुलाई बधाई छ । उत्कृष्ट जिपिए सहित माध्यमिक शिक्षा कक्षा १२ पूरा गर्नुभएकोमा कत्तिको खुसी हुनुहुन्छ ?

विद्यार्थी-             धेरै खुसी लागेको छ सर । यो खुसी हाम्रो मात्र नभई सम्पूर्ण गुरुवर्ग, अभिभावक र समग्रमा विद्यालयको नै खुसीको क्षण हो ।

देवसिंह-            तपाईहरुको अरु साथीहरुको भन्दा बढी जिपिए आएको छ । कसरी अध्ययन गर्दा जिपिए धेरै आएदोरहेछ ? वा के कसरी अध्ययन गर्नु पर्ने रहेछ  ? आफ्नो अनुभव बताइदिनुहोस् न ।

विद्यार्थी-             स्वःअध्ययन नै महत्वपूर्ण पक्ष हो । त्यसमा पनि युट्युब, गुगल जस्ता प्रविधिहरुको उपयोग गर्दै अध्ययन गरेको खण्डमा र परीक्षामा अरुकोभन्दा फरक शैलीलाई आत्मसात गरी बुँदागत रुपमा उत्तर लेख्न सकेको खण्डमा उत्कृष्ट अङ्क ल्याउन सकिन्छ जस्तो लाग्छ ।

देवसिंह-            ग्रामीण परिवेशमा अध्ययन गर्दै गर्दा थुप्रै घरायसी कामहरु पनि गर्नुपर्छ । यस्तो अवस्थामा अध्ययनको लागि समयको कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ?

विद्यार्थी-             टाढाबाट विद्यालय आउनुपर्थ्यो । पढ्नको लागि समय कम नै हुन्थ्यो । समय मिलाएर घरको काममा पनि सहयोग गर्नुपर्थ्यो । त्यसैले बाटोमा हिड्दै गर्दा र रातको समयलाई बढी प्रयोग गरेर अध्ययन गर्ने गर्थे ।

देवसिंह-            तपाईहरुको कतिपय साथीहरु बागलुङ बजार, पोखरा, काठमाण्डौ गएर पढ्ने गरेका पनि छन् । वहाँहरुले तपाईहरुले भन्दा राम्रो गरेका छन् त ?

विद्यार्थी-             विज्ञान, नर्सिङ, इन्जिनियरिङ्ग जस्ता विषय पढ्न बाहिर जानु स्वाभाविकै हो तर शिक्षा र व्यवस्थापन जस्ता विषय पढ्न भनेर बाहिर जानु भनेको त पैसाको सत्यानाश गर्न जाने हो । घरको आँटो-पिठो खाएर, बाबा-आमाको संरक्षणमा बसेर, घरायसी काममा पनि सहयोग गरेर हामीले जत्तिकै अङ्क बाहिर जाने साथीहरुले लिन त सकेका छैनन् नि सर ।

देवसिंह-            शिक्षा क्षेत्रलाई नै किन अध्ययनको क्षेत्र बनाउनुभयो ? विज्ञान, नर्सिङतर्फ किन ध्यान गएन?

विद्यार्थी- बाल्कालदेखि नै शिक्षक बन्ने रहर भएकोले यो क्षेत्र रोजेको हुँ । अरु क्षेत्रतर्फ खासै ध्यानै गएन ।

देवसिंह-            शिक्षा विषय खासै राम्रो विषय होइन । त्यसैले यो विषय पढेकाले केही गर्न सक्दैनन् भन्ने मानसिकता पनि विद्यार्थीहरुमा पाइन्छ । यसमा तपाईको धारणा के छ ?

विद्यार्थी-             जुनसुकै विषय आफैमा राम्रो नराम्रो भन्ने हुदैन । राम्रो नराम्रो भनी भेद गर्नु नै गलत मानसिकता हो जस्तो लाग्छ । त्यसैले म के भन्न चाहान्छु भने जुनसुकै विषय वा क्षेत्र भए पनि त्यसलाई गन्तव्यमा पुर्‍याउन सक्नुपर्छ त्यो नै सबैभन्दा राम्रो हो जस्तो लाग्दछ ।

देवसिंह-            तपाईलाई सबैभन्दा सजिलो र सबैभन्दा गाह्रो लाग्ने विषय कुन हो ?

विद्यार्थी-             सबैभन्दा सजिलो सामाजिक र सबैभन्दा गाह्रो अंग्रेजी विषय लाग्छ ।

देवसिंह-            तपाईहरुको अबको भावि योजना र उद्देश्य के हो ?

विद्यार्थी-             अबको हाम्रो उद्देश्य भनेको वी.एड. गर्नु नै हो । त्यसका लागि विद्यालयमा शिक्षण गर्दै अध्ययनलाई पनि पूरा गर्ने सोंचमा छौँ ।

देवसिंह-            जनप्रेम मा. वि. मा अध्ययन गर्दै गर्दा के कस्ता सकारात्मक पक्षहरु देख्नुभयो ?

विद्यार्थी-             जनप्रेम मा. वि. मा अध्ययन गर्दै गर्दा थुप्रै कुराहरु सिक्ने अवसर मिल्यो । स्मार्ट बोर्ड, स्मार्ट टिभीको प्रयोग, सिसी क्यामेराबाट निगरानी, प्रविधिमैत्री सिकाइ वातावरण, शिक्षकहरु नियमित हुनु, समयमै कक्षाकोठामा प्रवेश गर्ने र निस्कने बानी, अतिरिक्त क्रियाकलाप, एकाइगत परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन, टाढाका विद्यार्थीहरुका लागि खाजाको व्यवस्थापन जस्ता कुराहरु यस विद्यालयका सकारात्मक पक्षहरु हुन् ।

देवसिंह-            यस विद्यालयमा अध्ययनरत अरु विद्यार्थी भाइबहिनीहरुलाई कसरी पढ्ने सल्लाह

                        दिनुहुन्छ?

विद्यार्थी-             अनुशासित, इमान्दार र लगनशील भई प्रतिस्पर्धाको भावना राखेर पढ्नु पर्छ भन्ने सल्लाह दिन चाहान्छु ।

देवसिंह-            अन्तमा जनप्रेम मा.वि. लाई केही सुझाव दिनुहुन्छ कि ?

विद्यार्थी-             टाढाबाट आउने विद्यार्थीहरुको लागि होस्टेलको व्यवस्था गर्ने र नियमित रुपमा कोचिङ्ग क्लासको व्यवस्था मिलाउने हो भने यो विद्यालय अब्बल बन्छ भन्ने कुरामा दुईमत छैन ।

देवसिंह-            तपाईहरुले यो महत्वपूर्ण समय प्रदान गर्नु भएकोमा धन्यवाद ।

Share to Facebook