• bulletin@janapremmavi.edu.np
  • +977 9857621193
लोगो

प्रा. डा. ओम गुरुङलाई स्मरण गर्दा (जीवनी)

नईन्द्र बहादुर गुरुङ, प्र.अ.

डा. ओम गुरुङको जन्म वि.सं. २००९ साल माघ २७ गते बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. १ भुस्कात गाउँमा भएको हो । स्व. जि. मु. बल बहादुर गुरुङ र स्व. रत्न कुमारी गुरुङको माहिलो छोराको रुपमा उहाँको जन्म भएको थियो । उहाँको न्वारानको नाम इन्द्र बहादुर गुरुङ हो । नेपाली नागरिकताको प्रमाण पत्रमा उहाँको नाम ओम प्रसाद गुरुङ छ । तर पछि उहाँ ओम गुरुङकै नामबाट प्रसिद्ध हुनुहुन्छ । उहाँको एक श्रीमती अमृता गुरुङ, एक छोरा दिपक गुरुङ,  बुहारी सन्जु गुरुङ तथा नातिनी सेफलन गुरुङ  र दुई छोरीहरु बिजया गुरुङ र पुष्पा गुरुङ हुनुहुन्छ । छोरा बुहारी र नातिनी यु.के,  श्रीमती र जेठी छोरी काठमाण्डौ र कान्छी छोरी अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ । उहाँको सबै छोराछोरीहरुको विवाह भइसकेको छ ।

            पहिले पहिले सुत्केरी महिला र बच्चालाई न्यानो होस् भन्ने उद्देश्यले अँगेनाको छेवैमा सुताइन्थ्यो । त्यसैले आमासँग सुतिरहेका १२/१४ महिनाको उमेरमा अँगेनामा परेर उहाँको दुबै खुट्टा जलेको थियो । खुट्टा अपाङ्ग भएको कारणले लाहुरे हुने संभावना थिएन । त्यसैले उहाँले कक्षा १-५ सम्मको प्रारम्भिक शिक्षा गाउँमै रहेको जनप्रेम प्राथमिक विद्यालय हालको जनप्रेम माध्यमिक विद्यालय भुस्कातबाट प्राप्त गर्नुभयो । कक्षा ६ देखि ८ सम्म भरत चैतन्य माध्यमिक विद्यालय हालको पृथ्वी मा. वि. हरिचौरमा अध्ययन गर्नुभएको थियो । कक्षा ९ को अध्ययन गल्कोट माध्यमिक विद्यालय मझुवा फाँटमा गर्नुभयो । गुरु चित्र बहादुर के.सी. को प्रभावले कम्युनिष्ट विचारधाराबाट प्रभावित भएको कारणले उहाँले त्यस विद्यालयमा पूरै अध्ययन गर्न पाउनु भएन । त्यसैले कक्षा ९ र १० को अध्ययन विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ बजारमा गर्नुभयो । सोही विद्यालयबाट २०२७ सालमा एस.एल.सी. उत्तीर्ण गर्नुभयो । त्यसपछि सन् १९६३ मा महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट आई.ए. र सन् १९७५ मा  पृथ्वीनारायण क्याम्पस पोखराबाट वी.ए. पास गर्नुभएको थियो । सन् १९७८ मा इतिहास विषयमा त्रिभुवन विश्वविद्यालयबाट एम.ए उत्तीर्ण गरी सन् १९८० मा भारतको पुना विश्वविद्यालयबाट एम.ए. उत्तीर्ण गर्नुभयो । उहाँको आफ्नो लगाव र मिहिनेतको कारण सन् १९९६ मा अमेरिकाको कर्नेल विश्वविद्यालय न्यूयोकर्कबाट एम.ए. र सोही विश्वविद्यालयबाट मानवशास्त्रमा पि.एच.डी.को उपाधि प्राप्त गर्नुभयो । पि.एच.डी. को उपाधि प्राप्त गरे पश्चात अमेरिकामा थुप्रै सेवा सुविधा पाउँदा पाउदै पनि “म मेरै देशको सेवा गर्छु” भनी स्वदेश नै फर्कनुभयो । पि.एच.डी. को उपाधि प्राप्त गरी गाउँ फर्किएको अवसरमा गाउँमा ठूलो भोजको आयोजना गरियो । सम्पूर्ण गाउँलेहरुले फूलको माला र अविरको जात्रा नै गरेर स्वागत र सम्मान गरे । डा. गुरुङका आँखाबाट हर्षका आँसु झरे । बाबा, आमा, दाजुभाइ, छोराछोरी, बुहारी, छरछिमेकी लगायत सम्पूर्ण भुस्कात गाउँ नै हर्षित भयो ।

            देशकै एक बौद्धिक, प्राज्ञिक व्यक्तित्व भएको हैसियतले उहाँ गाउँमै बसिरहन सम्भव थिएन । त्यसैले उहाँले केही समय महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा प्राध्यापन गर्नुभयो । त्यसपछि सन् १९८० देखि २०१५ सम्म ३६ वर्षसम्म अविच्छिन्न रुपमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापन गर्नुभयो । उक्त अवधिमा उहाँ त्रिभुवन विश्वविद्यालयको केन्द्रिय समाजशास्त्र/मानवशास्त्र विभागको संस्थापक हुनुका साथै १२ वर्षसम्म त्यस विभागको विभागीय प्रमुख भएर शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएको थियो । शिक्षा क्षेत्रमा दिनुभएको योगदान बापत उहाँले थुप्रै विभुषण र उपाधिहरु पनि प्राप्त गर्नुभएको छ ।

            यसरी त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र/ मानवशास्त्र विभागका विभागीय प्रमुख, नेपाल आदिवासी जनजाति महासंघका महासचिव, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता, अखिल नेपाल बुद्धिजिवी संघका अध्यक्ष, आदिवासी जनजाति सूचिकरण अध्ययन कार्यदलका संयोजक, अखिल नेपाल आदिवासी महासंघका अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय कार्य समितिका वरिष्ठ सल्लाहकार, गोर्खा आर्मीहरुको हक र अधिकारका लागि संघर्ष गर्ने संगठन GAESO  का प्रमुख सल्लाहकार, वृटिश गोर्खा भूतपूर्व सैनिक संगठन BGAESO को प्रमुख सल्लाहकार, ने.क.पा. क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहकार समितिका संयोजक, नेपाल र्‍हन्मै गुरुङ परिवारको प्रमुख सल्लाहकार, जनप्रेम माध्यमिक विद्यालयको प्रमुख सल्लाहकार जस्ता दर्जनौ जिम्मेवारीहरु लिएर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । जसले गर्दा प्रा.डा. ओम गुरुङ स्थानीय स्तरमाभन्दा राष्ट्रिय स्तरमा र राष्ट्रिय स्तरमाभन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा बढी चर्चित हुनुहुन्थ्यो ।

            डा. ओम गुरुङ वि.सं. २०४५ सालदेखि अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रिय सल्लाहकार र वि.सं. २०५८ देखि २०६१ सम्म नेपाल आदिवासी जनजाति महासंघको महासचिव पदमा रहेर काम गर्नुभएको थियो । उहाँको उक्त कार्यकालमा  राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्न र समावेशी तथा समानुपातिक प्रतिनिधित्वको लागि भिषण संघर्ष चलेको अवस्था थियो । त्यतिबेला गणतन्त्रको पक्षमा र आदिवासी जनजातिहरुको हक र अधिकार प्राप्तिका लागि गरिएको संघर्षमा उहाँले महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । नेपालमा राजतन्त्र र केन्द्रीकृत सामन्ती एकात्मक राज्य व्यवस्थालाई हटाएर लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल निर्माण गर्ने अभियानमा महासंघको तर्फबाट उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । जसका कारण विश्वभर छरिएर रहेका ५० करोड विश्व जनसंख्याको ६.२ प्रतिशत आदिवासी जनाजातिहरुको मुद्दालाई उजागर गर्दै नेपालमा समावेशी र समानुपातिक प्रतिनिधित्वलाई ४२/५८ प्रतिशत बनाउनमा उहाँको उल्लेखनीय देन थियो । जसको प्रतिफल संविधान लेखन कार्यमा तत्कालीन प्रतिनिधि सभामा ६०१ जना सांसद हुँदा २१८ जना जनप्रतिनिधिहरु आदिवासी जनाजातिहरु हुनुमा डा.ओम गुरुङको आन्दोलनको थप उपज हो भन्नुमा कुनै अत्युक्ति नहोला । यसरी विश्वका ९० वटा देशमा बसोबास गर्ने ५००० भन्दा बढी समुदायका यी जनजातिहरु भाषा, सँस्कृति, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । तर नेपालका जनजातिहरु राज्यको अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले संसारका सबैभन्दा उत्पीडित र विपन्न वर्गमा पर्ने भएको हुँदा डा. गुरुङले यी वर्गहरुको हक र अधिकारका लागि आवाज उठाउनुभयो । तर केही मानिसहरुले गुरुङले जातीय राजनीति गरेको भन्ने आरोप पनि लगाए ।

            जनप्रेम प्राइमरी स्कूलबाट प्रारम्भिक शिक्षा आरम्भ गर्नु भएका डा.ओम गुरुङले आफ्नो गाउँसम्म मोटरबाटो ल्याउनका लागि बिहुँ धनसिंह चोकबाट नाका खोल्नका लागि तत्कालीन जि.वि.स. सभापति लिला बहादुर थापा मगरसँग रणनैतिक योजना बनाउनु भयो । भुस्कातको ठूलाचौरसम्म स्थानीय श्रमदानद्वार बाटो खन्ने प्रमुख योजनाकार उहाँ नै हुनुहुन्थ्यो । द्वन्दकालीन परिस्थितिमा पनि अमरभूमि, हिल, अर्गल र तारा गा.वि.स.का स्थानीय मानिसहरु हातमा कोदाली बोकेर मोटरबाटो खनेर नै भुस्कात पुर्‍याउने सङ्कल्पमा जुटेका थिए । ठूलाचौरदेखि जनप्रेम मा.वि.सम्म मोटरबाटो पुर्‍याउनका लागि डा.गुरुङले २,६०,०००।– प्रदान गर्नुभएको थियो । जनप्रेम मा.वि.मा छात्राहरुका लागि युरिनल चर्पी निर्माणका लागि रु.५,५०,०००।– उहाँले नै जुटाइ दिनुभएको थियो । डा. गुरुङकै सक्रियतामा दाजु डम्मरबहादुर गुरुङ र भाइहरु रनबहादुर गुरुङ तथा गंगाप्रसाद गुरुङको संरक्षकत्वमा उहाँको बाबा बल बहादुर गुरुङ, आमा रत्ना गुरुङ र साहिंली बुहारी सरिता गुरुङको स्मृतिमा जनप्रेम माविमा रु.५,००,०००।–को अक्षयकोष जम्मा गरिदिनुभएको थियो । वि.सं. २०६१ सालमा जनप्रेम मा.वि.मा कम्प्युटर ल्याव बनाउदै गर्दा उहाँले एक थान डेस्कटप कम्प्युटर उपलब्ध गराइ सहयोग गर्नुभएको थियो । २०६७ सालमा जनप्रेम मा.वि. लाई उच्च मा.वि. बनाउने क्रममा उहाँको निर्णायक भूमिका रह्‍यो र उहाँकै प्रमुख आतिथ्यतामा उच्च मा.वि. को समुद्घाटन गरी कक्षा ११ र १२ को समेत स्थानीय तहमै अध्ययन गर्न पाउने व्यवस्था भयो । 

उहाँको आफ्नै नेतृत्वमा भुस्कात गाउँमा एक सामुदायिक भवनको समेत निर्माण भयो । गुरुङहरुको समाजघर निर्माणका लागि आफ्नै निजी जग्गा समेत प्रदान गर्नु भयो । भुस्कात गाउँदेखि सरनेसम्म विद्युत विस्तारका लागि रु.२५,०००।– सहयोग डा. गुरुङले नै जुटाइदिनु भएको थियो । त्यसैगरी जनप्रेम निम्न माध्यमिक विद्यालयलाई माध्यमिक तहमा र माध्यमिक तहबाट उच्च माध्यमिक तह हालको कक्षा ११ र १२ मा स्तरोन्नती गर्ने क्रममा हङकङ, यू. के.,  ब्रुनाई, अमेरिका, साउदी अरब, मलेसिया आदि ठाउँबाट चन्दा संकलन गरी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । यसरी स्वदेश तथा विदेशबाट आर्थिक संकलन गर्न होस् वा शिक्षक व्यवस्थापन वा भवन निर्माण गर्ने कार्य किन नहोस्, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका निमित्त हरदम सक्रिय रुपमा गुरुङ उत्साही हुनुहुन्थ्यो । उहाँको आफ्नै खोज र अनुसन्धानमा नेपाल रहन्मै गुरुङ परिवारको वंशावली समेत तयार पार्नुभएको थियो । यसैगरी उहाँले आफ्नो जीवनकालमा हजारौ लेख-रचना र हजारौ अध्ययन प्रतिवेदन पनि तयार पारिसक्नु भएको छ । साथै उहाँले आफ्नो गाउँको शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी जस्ता विकासका पूर्वाधारहरुको विकास गर्ने क्रममा अतुलनीय योगदान पुर्‍याउनु भएको छ ।  खानेपानी र कृषि क्षेत्रको सुविधा र विस्तारका लागि लुथरन विश्व सेवालाई सामुदायिक विकास परियोजनाको रुपमा तत्कालीन इलाका नं.७ खरबाङमा कार्यालय राख्नका लागि अध्ययन प्रतिवेदन समेत उहाँले नै तयार पार्नुभएको थियो । सोही परियोजना मार्फत  मल्म, रिघा, पाण्डवखानी, सिसाखानी, जल्जला, डगातुन्डाँडा, ग्वाँलीचौर गाविसमा खानेपानी तथा कृषिको सुविधा विस्तार भएको थियो । साँच्चिकै अन्याय नगरी भन्ने हो भने उहाँ भुस्कात गाउँमा नजन्मनु भएको भए भुस्कात गाउँ, जनप्रेम मा.वि. र यहाँको अवस्था कस्तो हुन्थ्यो ? र कस्तो बन्थ्यो होला ? कल्पना गर्न पनि सकिंदैन ।

            आफ्नो गाउँको सुःख दुःखमा प्रत्यक्ष पुगेर वा फोन सम्पर्क गरेर भए पनि सहभागि भई हाल्ने उहाँको स्वभाव थियो । गाउँमा आएको समयमा वृद्धवृद्धाहरुलाई घरमै गएर भेट्ने,  साथीभाइहरुसँग बस्ने, सरसल्लाह गर्ने, छलफल गर्ने र गाउँका तमाम समस्याहरुको बारेमा भलाकुसारी गर्ने र साथीभाइहरुसँग हाँसी मजाक गर्ने उहाँको आदत जस्तै थियो । खुट्टा कमजोर भए पनि भलिबल  र ब्याडमिन्टन खेल्न उहाँ सिपालु हुनुहुन्थ्यो । हार्मोनियम बजाउन, गीत गाउन, मादल बजाउन, नाँच्न, दोहोरी गीत गाउन पनि डा.गुरुङ निपुण नै हुनुहुन्थ्यो । फलेको वृक्ष झुकेको हुन्छ भन्ने उक्ति उहाँले पुष्टि गरिदिनु भएको छ । उहाँ आफूभन्दा ठूला, साना, बालबालिका, वृद्धवृद्धा सबैसँग एकैछिनमा घुलमिल हुन र रमाउन सक्नुहुन्थ्यो । अत्यन्त मिलनसार, नम्र, सहयोगी र जुझारु स्वभावको हुनुहुन्थ्यो ।

            नेपाल राष्ट्रकै एक शैक्षिक धरोहर, बागलुङ जिल्लाको पिलर, भुस्कात गाउँको सान र रहन्मै गुरुङ परिवारको इमान मानिएका प्रा.डा. ओम गुरुङको २०६८ सालमा दुवै मृगौलाले काम गर्न सकेन र भारतको नयाँ दिल्लीमा रहेको मेधान्त अस्पतालमा गएर मृगौला प्रत्यारोपण गर्नुभएको थियो । मृगौला प्रत्यारोपण पश्चात डा.गुरुङले खानपानमा अत्यन्त ध्यान दिनुहुन्थ्यो । तर सामाजिक, राजनैतिक र सांगठनिक कार्यमा भने स्वदेश-विदेश जहाँ पनि पुगेर आफ्नो भूमिका र जिम्मेवारी पूरा गरेरै छाड्ने उहँको बानी नै थियो ।

            २०७९ आश्विन ३० गते अकस्मात स्वास्थ्यमा समस्या देखा पर्‍यो र नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा पुर्‍याइयो । झण्डै ६ वर्ष अगाडि उहाँको गर्धनको बाहिरी भागमा क्यान्सर भएको पुष्टि भएको थियो । सोही क्यान्सर रोगको उपचार गराइरहने क्रममा मृगौलाले काम गर्न नसके पछि डाइलोसिस गर्ने तयारी गर्दागर्दै ७० वर्षको उमेरमा वि.सं.२०७९ साल असोज ३१ गते मध्यान्ह १:४८ बजे सोही अस्पतालमा उहाँको अकल्पनीय निधन भयो । उहाँको अकल्पनीय निधनको खबर राष्ट्रिय पत्र-पत्रिका, सामाजिक सञ्जाल, कायाकैरन हुँदै राष्ट्रिय-अन्तराष्ट्रिय स्तरमा नै फैलियो । घर- परिवार मात्र नभै, दाजुभाई, इष्टमित्र, चेलीबेटी, गाउँ र सिङ्गो देश नै शोकले स्तब्ध भयो ।  गाउँ- समाज र सिङ्गो राष्ट्रकै लागि योग्य, कर्मठ, इमान्दार, बौद्धिक धरोहर र बहुप्रतिभाशाली प्रा.डा.ओम गुरुङलाई गुमाउनु पर्दा सिङ्गो राष्ट्रमा नै सन्नाटा छायो । स्थानीय सामुदायिक विद्यालयबाट नेपाली भाषाको माध्यममा शिक्षा लिएर पनि राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा चर्चित गुरुङको जीवनीले संसारको जुनसुकै कुनामा जन्म लिए पनि आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्न सकिदो रहेछ भन्ने कुराको पुष्ट्याइँ गरेको छ ।

Share to Facebook