म जन्मेको गाउँ आँगन कस्तो भयो होला ?
स्वर्गभन्दा प्यारो लाग्छ मेरो ताराखोला ।
यति सुन्दर गाउँ अरु कहाँ होला ?
अमृत जस्तै पानी बग्ने मेरो दरमखोला ।
सधैँ तिम्रो कल्पनामा रम्न पाउँ झूमि ।
प्यारो अनि न्यानो लाग्ने मेरो जन्मभूमि ।।
गर्व लिई कोमल काँखमा जन्मिए तिम्रै काखमा ।
न्यानो तिम्रो स्पर्स पाई हुर्के तिम्रै साथमा ।।
मेलापात हिँड्दा खान्थ्यौँ मिलिजुली खाजा ।
जति पनि खाऔँ-खाऔँ लाग्ने असला त्यो माछा ।।
जडिबुँटी, साग टिप्न हिले खिउमा जाउँला ।
डाँफे, मुनाल, लालीगुराँस हेर्दै रमाउँला ।।
हाँसीखुसी सँगै जाउँला असारे त्यो मेलामा ।
धान, कोदो, रोप्ने अनि मकै खन्ने बेलामा ।।
चारैतिर आउछन् रमाउँछन् ती खेलैमा ।
मगरको महान् पर्व भदौरे त्यो मेलैमा ।।
मुस्कुराउँदै बोलाउँछ हामीलाई डुँडेलेकले ।
ताराखोलाको संस्कृति भाषा अनि भेषले ।
मह,च्याउँ खोज्न जाउँला माथि रानी बनमा ।
जन्मभूमि याद आउने सधै मेरो मनमा ।।
परिश्रमी हामी सबै गछौँ अर्गानिक खेती ।
मेलापात-अर्मपर्म कति मिल्ने साथी ।।
छैन विभेद, संस्कृति र कुनै जातजाति ।
त्यसैले त ताराखोला रहेको छ माथि ।।
अर्गानिक आलु खाउँला जाउँला डाँडापाखा ।
जहाँ भए पनि प्यारो लाग्ने मातृभूमिको काँख ।।
केनै छ र मानिसको मरिलाने चोला ।
आउनुहोला कुनै दिन हाम्रो ताराखोला ॥